News Griha :: न्यूजगृह
जाजरकोटमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट— कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचारका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएको प्रमुख बस्नेत बताए ।

उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:३०
Weather Update