News Griha :: न्यूजगृह
सैनिक मुख्यालय पुगेर रक्षामन्त्री खड्काले के भने ?

काठमाडौं— उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाको परिचयात्मक निरीक्षण भ्रमणपछि उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव दिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष सो अवसरमा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका कार्यलगायतबारे विविध जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रुपमा सधैं अब्बल रहन सकेको भनी सह्राना गरे । उनले भने,‘देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी छ, जनताको आशा र विश्वास जगाउन मन्त्रालय तथा सेना मिलेर जाँदा आशातित उपलब्धि हासिल हुनेछ ।’

प्रधानसेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै सेना संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा विशेष परिस्थितिमा निर्दिष्ट गरिने कानुन बमोजिमका अतिरिक्त जिम्मेवारी बहन गर्न सदैव तत्पर रहेको बताए ।

बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको प्रतिकारका लागि सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार,  मन्त्रालय र जनताको अपेक्षा अनुरुप कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्न कटिबद्ध रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १९:२२
Weather Update