News Griha :: न्यूजगृह
काठमाडौं महानगरले सुरु गर्‍यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप लगाउने कार्यक्रम

काठमाडौं— काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई बस्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलबार समाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको प्रमुख बालेन साहले चुनाब बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेको बताएका हुन् ।

उनले लेखेका छन् ‘चुनाव बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेछ । पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ ।’

उनले महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको जानकारी दिए ।

आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने र ९ वडा हुँदै  आफूहरु  ३२ वडा सम्म पुग्ने लक्ष रहेको उनको भनाइ छ ।

वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर),वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर ’ले काम गर्नेछन् ।

वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ ले काम गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:०१
Weather Update