News Griha :: न्यूजगृह
इजरायल घटनापछि नेपाल प्रहरीले बढायो सुरक्षा सतर्कता, अप्रिय गतिविधि हुन नदिन निमित्त प्रहरी प्रमुखको निर्देशन

काठमाडौं— इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ ।

निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आकल सहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको हो ।

विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात वटै प्रदेशका प्रहरी प्रमुखलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएका छन् ।  

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, राईले सम्भावित सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

tek-prasad-rai-1-1696858607.jpgइजरायल घटनापछि विगतमा जस्तो विरोध प्रदर्शन, तोडफोड, मुस्लिम समुदायमाथि आक्रमण, घुम्न आएका इजरायलीमाथि आक्रमण जस्ता गतिविधि हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्ता गतिविधिलाई निस्तेज पार्न प्रहरी नेतृत्वले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट सोमबार भिडिओ कन्फरेन्स गर्दै उनले सातै प्रदेश प्रहरी प्रमुखलाई शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायसँग पनि समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए ।

सोही अवसरमा निमित्त प्रहरी प्रमुख राईले नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने कालोबजारी र तस्करी नियन्त्रणका लागि पनि सक्रियता देखाउन निर्देशन दिए । उनले दशैंमा हुनसक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि पनि अझ बढी सक्रियता देखाउन निर्देशन दिए ।

त्यसअवसरमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आआफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तथा कार्यान्वयन र भइरहेका गतिविधिबारे जानकारी गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:२२
Weather Update