News Griha :: न्यूजगृह
इजरायलमा रहेका नेपालीलाई सुरक्षित नेपाल फर्काउन नेसपाको माग, हमास आक्रमणको भर्त्सना

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले इजरायलमा रहेका नेपालीलाई सुरक्षित राख्न र नेपाल फर्काउन सरकारसँग माग गरेको छ ।

शनिबार साँझ इजरायलमाथि हमासले गरेको हमलामा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् ।

नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमास आक्रमणकाे भर्त्सना गरेका छन् ।

पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘इजरायलमा हिजो बिहान भएको आक्रमणबाट हामी अत्यन्तै दुःखी भएका छौँ । इजरायलमाथि हमासले गरेको हमलाको नेपाल समाजवादी पार्टी भर्त्सना गर्दछ । शान्ति र स्वतन्त्रता नै मानव जातीको सुख हो भन्ने मान्यतालाई हामी पूर्ण विश्वास गर्दछौँ ।’  त्यसैगरी नेसपाले आक्रमणमा परेर घाइते भएका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न इजरायलस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

‘इजरायलमा भएको आक्रमणले इजरायलमा रोजगारी र अध्ययनको सिलसिलामा बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु पनि प्रभावित भएको र त्यहाँ स्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार घाइते नेपालीहरु मध्ये दुईजनाको स्थिति गम्भीर रहेको छ । घाइते हुनुभएका नेपालीहरुको उपचारमा कुनै कमी हुन नदिन इजरायलस्थित नेपाली दूतावासलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ,‘उहाँहरुको सुरक्षा अवस्थाबारे हाम्रो पार्टी अत्यन्तै चिन्तित छ । नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले सक्रियता बढाएर सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराई स्वदेश फर्काउने प्रक्रियालाई यथासिघ्र रुपमा अघि बढाउन आग्रह गर्दछौँ । साथै, इजरायलमा बसोबास गर्ने सबै नेपाली नागरिकहरुलाई आवसीय नेपाली  दूतावासको सम्पर्कमा आईदिन पनि नेपाल समाजवादी पार्टी अनुरोध गर्दछ ।’

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:५१
Weather Update