News Griha :: न्यूजगृह
भारतीय पर्यटक भन्छन्— पोखरा अद्भुत सहर

पोखरा— पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ ।

पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।

फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए ।

हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ थियो ।

दोस्रोपल्ट पोखरा आएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए  ।

उनीसँगै पोखरा घुम्न आएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छिन् । धर्मकर्ममा विशेष रुचि भएका कारण उनले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताइन् ।

श्रीमान्का साथमा पहिलो पटक पोखरा आएकी उनले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाइन् ।

अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए । 

उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ ।

हिन्दु धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् ।

गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए ।

पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउँछन् ।

‘अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्’, उनले भने ।

विभिन्न पर्यटकीय संघसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताए ।

उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताए ।

उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:३९
Weather Update