News Griha :: न्यूजगृह
दसैँका लागि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं— दसैँतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुला हुने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । ‘आज बसेको पहिलो बैठकले अग्रिम टिकट बुकिङ खुल्लाको निर्णय गरेको छ । थप यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः सरोकारवाला निकायहरूसँग अहिले बैठक बस्दैछौँ’ सिटौलाले भने ।

सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:२२
Weather Update