News Griha :: न्यूजगृह
बझाङमा फेरि भूकम्प, केन्द्रबिन्दु चैनपुर 

काठमाडौं— बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएराति दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०:५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ तथा गए राति १२:२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

दोस्रोपटक ३:०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्  । 'विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,' उनले भने ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:२७
Weather Update