News Griha :: न्यूजगृह
ईपीजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव 

काठमाडौं— नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिता दिनुपर्ने भनाइ राखेका हुन् ।

नेपाल-भारतबीचको सम्बन्ध, अवसर, समस्या र समाधानका विषयमा धारणा राख्दै उनीहरूले दुई देशका प्राविधिक संयन्त्रले २६ वर्ष लगाएर तयार पारेको सीमा नक्सा कार्यान्वयनमा ल्याउँनुपर्नेमा जोड दिए । बैठकमा नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीका सदस्य एवं पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले विवादित क्षेत्रबाहेक सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिता दिन संसद्‌मार्फत सरकारलाई सुझाव दिए ।

उनले भने, 'सीमा निर्धारणअनुसार दशगजाको अतिक्रमण हटाउन, सम्भव भएसम्म एकतर्फी तारबार गर्न, सीमा र नियमनका सन्दर्भमा सर्वोच्च अदालतको संयुक्त इजलासको परमादेश कार्यान्वयन गर्न आवश्यक छ ।' उनले नेपालमा रहेका भारतीयको अभिलेख स्थानीय तह र सम्बन्धित प्रहरी कार्यालयले राखी प्रत्येक छ महिनामा अद्यावधिक गर्न तथा श्रम कानुनको व्यवस्थाअनुसार श्रम स्वीकृतिलाई सङ्गठित र असङ्गठित दुवै क्षेत्रमा प्रभावकारीरूपमा लागू गर्नुपर्ने बताए ।

उपाध्यायले सीमा नाका नियमन र व्यवस्थित नभएसम्म नेपालले लागूऔषध ओसारपसार, मानव बेचविखन, आपराधिक क्रियाकलापलगायत शान्ति सुरक्षासम्बन्धी चुनौतीको सामना गर्नुपर्ने अवस्था कायम रहेकाले सदनमा यस्ता विषय प्रभावकारीरूपमा उठाउनुपर्नेमा जोड दिए ।

नेपाल-भारतबीच आवतजावतका लागि २६ वटा नाका रहे पनि खुला सीमा रहेकाले जहाँबाट पनि सीमा पार गर्न सकिने विषयलाई दुवै पक्षले बुझ्न जरुरी रहेको विज्ञहरूको भनाइ छ ।

नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले दुई देशबीचको सीमा नियमनलाई एकीकृतरूपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले सन् १९८२ देखि २००७ सम्म २६ वर्ष लगाएर तयार गरिएको एक सय ८२ स्थानको सीमासम्बन्धी नक्सा कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:००
Weather Update