
बाग्लुङ— ‘फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ,हामीहरुलाई जुनी फेरिए झैँ लागेको छ,’सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्ती मगरले भने ।
यसअघि निसेलढोरमा बस्दा कहिल्यै पनि सहजरूपमा फोन गर्न नपाएका उनलाई आफन्तसँग फोन गर्नपरे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो ।
आइतबार दिउँसो एक्कासि गोठमै बसेका बेलामा मोबाइलमा म्यासेज आयो । म्यासेज आएको केही बेरमा बेसीँबाट आफन्तले फोन गरे । गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुर खुसीहुँदै बाहिर निस्केर आकाशतिर हेरे ।
नेटवर्कले काम गरेपछि उनले सम्झिए, गाउँमाथिको डाँडामा नेपाल टेलिकमको टावर बन्दै छ भन्ने । सूचना र प्रविधिले फड्को मारिसक्दा पनि निसेलढोरमा अहिलेसम्म फोन गर्नका लागि टावरसमेत बनेको थिएन ।
विद्युत् समेत नपुगेको यस ठाउँमा टेलिकमको टावरले काम गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको छ । अब फोन गर्नका लागि तीन घण्टा धाएर ढोरपाटन पुग्न नपर्ने घर्ती मगरले बताए ।
विद्युत् र टावर विस्तार नहुँदा यहाँका सयौँ नागरिक वर्षौँदेखि सूचना र सञ्चारको पहुँचभन्दा टाढा रहनुपरेको उनको भनाइ थियो ।
घर्ती मगरले भने,‘मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ, बेसीँ झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने र त्यसपछि मोवाइल अफ गरेर राख्नु पर्ला, अब त गोठभित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जिते जस्तो भयो । पहिलो दिन टावरले काम गर्दा मोबाइल खुल्ला नै रैछ, घण्टी बज्दै म्यासेज आउँदा दङ्ग परेँ, माथि डाँडामा टावर बन्दै छ भन्ने त सुनेको थिए तर मैले बिर्सिएको रैछु, पछि मोबाइल हेर्दा त टावरको चिन्न देखिएको रहेछ, अब यस ठाउँका मान्छेले पनि बसेकै ठाउँबाट फोन गर्न पाउने भए ।’
नेपाल टेलिकमले निसीखोला गाउँपालिका–५ को ऐसेलुधारामा टावर निर्माण गरेर सेवा सुरु गरेको छ । तीन हजार ७३० मिटरको उचाइमा निर्माण भएको टावर सोलारबाट सञ्चालन गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले भौगोलिक विकटताका कारण सूचना र प्रविधिको विकास भइसक्दा पनि यहाँका जनता निकै समस्या भोग्नु परेकाले सञ्चारसँग जोड्न टावर निर्माण गरिएको बताए ।