News Griha :: न्यूजगृह
नयाँ बसपार्कको बर्गर हाउसमा बन्धक बनाएको आरोपमा दुई पक्राउ
फाइल तस्बिर

काठमाडौं— काठमाडौं महानगरपालिका–२६ गोग‌बु नयाँ बसपार्क स्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं सामाखुसी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार काभ्रेको तेमाल–७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौं महानगरपालका–२६ गोगंबु नयाँ बसपार्क स्थित ‘द बर्गर हाउस’मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।

नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

आरोपितविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:४४
Weather Update