News Griha :: न्यूजगृह
सबै मिलेर बसेको देशमा सामाजिक सद्भाव खलबलिने काम नगरौं : माधव नेपाल

जनकपुरधाम— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।

समाजवादी प्रेस संगठन मधेस प्रदेशले बुधबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे ।

‘अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगञ्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ’,अध्यक्ष नेपालले भने,‘यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।’

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा नेपाल जनकपुरधाम आएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:२०
Weather Update