News Griha :: न्यूजगृह
मधेस प्रदेशका जिल्लाको सुरक्षा चुनौतीबारे गृहमन्त्री श्रेष्ठ छलफलमा

बर्दिबास— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेका छन् ।

महोत्तरीको बर्दिबासमा जारी अन्तरक्रियात्मक बैठकमा यतिबेला प्रमुख जिल्ला अधिकारीहरूले गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरिरहेका छन् । उनीहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या उजागर गरेका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनहरूको भनाइ थियो ।

प्रशासनले सबै गैरकानुनी गतिविधिलाई प्रत्यक्ष र सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई चुस्त राखिएको समेत उनीहरुले गृहमन्त्री श्रेष्ठलाई जानकारी गराएका छन् ।

गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायतका व्यक्तित्वहरू समेत बैठकमा सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:५२
Weather Update