News Griha :: न्यूजगृह
२७ वर्षीया लक्ष्मीको हत्यामा संलग्न चार युवा पक्राउ

कञ्चनपुर— गत साउन ३० गते कञ्चनपुरको पुर्नवासनगरपालिका–३आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला पर्‍यो ।

शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले लक्ष्मीको हत्यापछि माइतीघर नजिकै लगेर शव फाल्ने चार युवकलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का १९ वर्षीय राहुल राना, २७ वर्षीय सरोज राना, लालझाडी गाउँपालिका–१नौरङ्गाका ३३ वर्षीय सेनराज राना र सोही स्थानका ३३ वर्षीय पर्शु रानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले प्रारम्भिक अनुसन्धानबाट हत्या गरिएकी महिलालाई लालझाडी–१ स्थित जङ्गलमा रहेको मचानमा लगेर मादक पदार्थ सेवन गराई खसालेर हत्या गरेको देखिएको बताए ।  

'मचानको तेस्रो तलाबाट खसालेर घर्तीको हत्यापछि शव उनीहरूले नै माइतीघर नजिकै लगेर फालेको देखिन्छ,' प्रहरी उपरीक्षक थापाले भने, 'मचानबाट खसेपछि गम्भीर घाइते भएकी घर्तीलाई मोटरसाइकलमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।'

प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले अभियुक्तलाई आइतबार पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:२४
Weather Update