
काठमाडौं— दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि बाँकेको नेपालगञ्जमा सेना परिचालन गरिएको छ ।
दुई समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । मंगलबार मात्रै झडपका क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी अश्रुग्यास हानेको थियो ।
मंगलबार साँझसम्म आठजना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको छ । तर पनि अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार मुस्लिम समुदायले गरेको विरोध प्रदर्शन र मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्याली पछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।
नगरका विभिन्न ठाउँमा दुई समूहबीच ढुंगा हानाहान भएको छ । प्रहरीले दुई दर्जन सेल अश्रुग्यास हानेको छ । साँझ झडप रोकिएको छ । तर ठूलो सङ्ख्यामा सेना, प्रहरी र सशस्त्र प्रहरी नगरका गल्लीगल्लीमा खटिएका छन् ।
असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसका कारण यो तनाव चुलिएको हो ।
त्यसपछि मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति तथा ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भएको हो।
त्यसपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार र अराजक गतिविधि भएका थिए ।
त्यहीकारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।