
पाल्पा— पाल्पाको रामपुर नगरपालिका–२ का सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा पुगे । थापा मारुनी नाचका अगुवा हुन् । मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तो छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन् । बाउबाजेको साथमा मारुनी देखाउन थालेका थापाले आफ्नै नेतृत्वमा कृष्णचरित्र मारुनी नाच समूह गठन गरेका छन् । ‘युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्’, थापाले भने, ‘केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।’
मारुनी गाउने र नाच्ने भनेपछि उनलाई औधी खुसी लाग्छ । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि पोशाक उपलब्ध नहुने थापा बताउँछन् । आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेषभूषा, गरगहना लगाएर नाच्ने गरेको उनले सुर्ना ।
पूजाआजा, पास्नी, दशैँ–तिहारजस्ता पर्वमा अनिवार्यजसो मारुनी नाच्ने चलन थियो । पछिल्ला वर्षमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइन्छ । हिजोआज मेला, महोत्सवलगायत कार्यक्रममा संस्कृति जोगाउन मारुनी नाच नाचिन्छ । मारुनी नाचमा महिलाको वेषभूषा सारी, चोलो, पटुका, कण्ठमाला, चुरापोतेलगायत गरगहनामा सजिएर पुरुषले नाच्छन् ।
कला, संस्कृति जोगाउन पाका पुस्तासँगै आबद्ध भएर स्थानीय ४३ वर्षीय दिनेश थापामगर पनि मारुनी नाच्छन् । ‘बाउबाजेबाट सीप सिकेर १३ वर्षको उमेरदेखि नै मारुनी नाच्न थालेको हुँ, पहिलाको र अहिलेको मारुनीमा धेरै फरक छ, पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति कम हँुदा कहिलेकाहीँ मेला महोत्सव, कार्यक्रममा मात्रै सीमित बन्न पुगेको छ’, उनले भने ।
परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान गएको छैन । पुरुष नृत्यकारले महिलाको वेषभूषामा सजिएर नाच्दा दर्शकमाझ रमाइलोपन ल्याउँने हुँदा मारुनी नाचलाई विशेष मानिन्छ । मनोरञ्जनका लागि मात्र मारुनी देखाउने नभई समाजको परम्परागत कला–संस्कृति जोगाउन आफूहरु यसको संरक्षणमा लागेको स्थानीय ज्ञानबहादुर सारुमगर बताउँछन् । पुरानो रीतिरिवाज जोगाउँदै वाद्यवादनको तालमा गीतको भावअनुसार नाच्दै जाँदा छुट्टै आनन्द हुने उनी बताउँछन् । ज्ञानबहादुरका अनुसार मारुनी भगवानका विभिन्न गीत गाउने र सो गीतको भावअनुसार नृत्यकारले आफ्नो नाच देखाउने गरिन्छ । ‘गीत झट्ट बुझ्न गाह्रो पर्छ । गीतमा पोख्त कलाकारले मात्रै नाच्न सक्छन्’, उनले भने ।
‘कमलको फूल लिन जाउन भानिज, शिरैउपर छाता छैन जान्न मत मामा’ यसरी गीतमा डुबुल्की मार्न सकिएन भने सामान्य सुनेको भरमा मात्रै नाच्न नसकिने मारुनी कलाकार ६३ वर्षीय दानबहादुर थापा बताउँछन् । ‘बेग्लै लय भएकाले झट्ट गीतको अर्थ जोकसैले बुझ्न सक्दैनन्, मारुनी नाच्ने कलाकारले पहिला गीत राम्रोसँग सुनेरमात्रै नाच्नुपर्दछ, गीत बुझेपछि भने नाचु–नाचु भइरहन्छ’, उनले अनुभव सुनाए ।
गाउँमा हुने विभिन्न शुभकार्य, पूजाआजा, न्वारन, छैँठीजस्ता कार्यमा मारुनी नाच्दा गाउँ नै उल्लासमय हुने गरेको सम्झन्छन् ५९ वर्षीय ताराबहादुर थापा । गीतमा भगवान् कृष्णका जन्मदेखिका उनले आफ्नो जीवनका कालखण्डमा गरेका विभिन्न क्रियाकलाप जोडिने उनी बताउँछन् । मारुनी नाचलाई कृष्णचरित्र नाच, खेलीनाच पनि भनेर चिनिन्छ । एक समूहमा मारुनी देखाउन कम्तीमा पनि २० कलाकार चाहिने ताराबहादुर बताउँछन् । मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ ।
गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । वेषभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ । मारुनीसंगै पुरसिङ्गे पनि नाच्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन् । पुरसिङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ । पाल्पाको ग्रामीण भेगमा पहिले मारुनी नाच्ने समूह बाक्लै भेटिन्थ्यो । हिजोआज भने केही ठाउँमा मात्रै नाच्ने गर्दा मारुनी नाच्ने समूह कम हुन थालेको छ ।
रामपुर, निस्दी, पूर्वखोला, माथागढी, तिनाउँका केही ठाउँमा मारुनी नाच बेलामौकामा देखाइने गरिन्छ ।