News Griha :: न्यूजगृह
व्यक्तिगत र नेतृत्वको स्वार्थले जनताले आशा गरेअनुसार काम भएन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत र नेतृत्वको स्वार्थका कारण जनताले आशा गरेअनुसार काम पूरा हुन नसकेको बताएका छन् ।

१५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रममा उनले अहिले सबैलाई अल्छी लागेको भन्दै नेपाली जनता र वुद्धिजीवीको साथ भए पनि देश माथि उठ्न नसकेको बताए ।

उनले भने,‘हामीले पाएको प्रजातन्त्रलाई जसरी चलाइरहेका छौं त्यो धेरैलाई सन्तोषजनक लागेको छैन । अहिले हामी व्यक्तिगत स्वार्थ, नेतृत्वगत स्वार्थ, पार्टीभित्रकै स्वार्थ, दलभित्र पनि गुटको स्वार्थमा लागेका कारण जुन इच्छा बोकेर सबै राजनीतिक दललाई नेपाली जनताले विश्वास गरेका थिए,वुद्धिजीवीले साथ दिएका थिए, देश उठेको थियो अहिले सबैलाई अल्छी लागेको छ ।’

जिम्मेवार ढङ्गबाट प्रस्तुत हुनुपर्नेमा कमीकमजोरी भएकाले जनतामा वितृष्णा उत्पन्न भएको बस्नेतले बताए ।उनले भने, ‘काम गर्ने शैलीमा अहिंसात्मक तरिकाले गएनौं भने उचित स्थानमा पुग्न सक्दैनौं । विकास, संविधान निर्माण, मुलुक बनाउने जनताको इच्छालाई सम्बोधन गर्ने कुरामा हामी एक स्थानमा आउँदैनौं भने सम्भव हुँदैन ।’

उनले पहिला आफू राम्रो हुन्छु, अरुलाई पनि राम्रो बनाउँछु भनेर अगाडि बढेको भन्दै त्यही कारण अहिले सबैले साथ पाएको बताए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:०६
Weather Update