गृहमन्त्री श्रेष्ठ भन्छन्— समृद्धिको बाटोमा लागिरहेका छौँ

हेटौँडा— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् ।
हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव सोमबार उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए ।
देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गरे ।
राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले भने, ‘हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।’
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १५:२९