News Griha :: न्यूजगृह
स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन पक्राउ

काठमाडौं— रुपन्देहीको सिद्धार्थनगर नगरपालिक–१ डण्डाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरू भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डीएसपी थापाले जानकारी दिए ।

तीनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको बताउँदै प्रवक्ता थापाले बरामद रकम र दुईवटै भ्यान राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:४०
Weather Update