
काठमाडौं— तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ ।
प्रहरीको सूक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । एक सातामै वैकल्पिक मार्गबाट आएको १२ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ ।
प्रहरीले दोलखामा ११ किलो सुन बरामद गरेको छ । एकपटक तीन किलो, एकपटक चार किलो र आइतबार थप ४ किलो सुन बरामद भएको हो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ ।
यस्तै शनिबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै पक्राउ गरेको छ ।
यी घटना हेर्दा विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएको चाल पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतोसमेत पाइएको छ ।
अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप) मा हालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो । यी दुवै घटनाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यस्तै सीआईबीले ती घटनाका विषयमा पूरक अनुसन्धान जारी राखेको छ ।
विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ । पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य ती घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान जारी रहेको बताउँछिन् ।
दोलखा, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन तस्करीका कारोबारी एउटै भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
६१ किलो सुन तस्करीमा चिनियाँ नागरिक दावाजिन वाङसहितका अभियुक्त फरार छन् । उनीसहित गिरोहका १५ सदस्यविरुद्ध सीआईबीले फरार अभियुक्त बनाइ मुद्दा दायर गरेको छ । फरार व्यक्तिकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट सुन ल्याउने गरेको पछिल्लो अनुसन्धानले देखाएको हो ।