नियम पालना गर्नुपर्छ भन्दा ट्राफिकलाई गाली गर्ने प्रवृत्ति छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन् ।
आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० को उद्घाटन समारोहमा उनले सडक व्यवस्थापन राम्रो नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए ।
‘सडक सुरक्षा सडकको गुणस्तर, क्षमता, सवारी साधनको गुणस्तरीयता, चालकलगायत जनसमुदायको चेतना र आचरणमा निर्भर हुने गर्दछ । त्यसैले सबैले यसबारे सोचेर सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता छ ।’
सुरक्षाका लागि बनाएका नियम पालना गर्नुपर्छ भन्दा ट्राफिक प्रहरीलाई गाली गर्ने प्रवृत्ति र मानसिकता रहेको उनको भनाइ छ । उनले चेतनास्तरलाई विकास गर्नुपर्ने र प्रहरी व्यवस्थापन र प्रभावकारी कामका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० ०९:४६