News Griha :: न्यूजगृह
शनिबार तपाईंको राशिफल हेर्नुस्

असोज १३ गते शनिबार । असोज कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग ध्रुव कौलव रेवती । सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) द्वितीया श्राद्ध । तपाईंको राशिफल यस्तो छ ।

मेष

फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।

वृष

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । दैनिक काममा उल्लेख्य फाइदा हुनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ ।  

मिथुन

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ ।

कर्कट

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

सिंह

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या

आकर्षक पहिरन र तारिफयोग्य कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । कामको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ ।

तुला

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । पछिका लागि खर्चको जोहो गर्नुपर्ला ।

वृश्चिक

कामको चापले जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ । परिस्थितिवश अध्ययनमा पछि परिनेछ । पेसा र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ ।

धनु

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् ।

मकर

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ

अध्ययनमा त्यति समय दिन नसकिएला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

मीन

भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ । 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०६:२३
Weather Update