News Griha :: न्यूजगृह
अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं— आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

'रावायण' नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएको थियो । 

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । कटुवाल निर्देशक सुदर्शन थापाकी पत्नी हुन् । उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको एसपी रेग्मीले जानकारी दिए । 

एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन’, एसएसपी राठौरले भने, ‘त्यसपछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएका हौं ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:०५
Weather Update