News Griha :: न्यूजगृह
सडकबाटै डाक्टरको प्रश्न— यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन?

काठमाडौं— सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

सेतो कोट लगाएर बिहीबार पनि सडकमा उत्रिएका उनीहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरूको भौतिक सुरक्षा हुनु पर्ने माग गरेका छन् ।  राज्यलाई डाक्टर चाहिन्छ कि चाहिँदैन ? उनीहरूको प्रश्न छ । 

आन्दोलनमा सहभागी डाक्टर निरज अधिकारीले सरकारले आफूहरूको मागलाई वेवास्ता गरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘जसलाई संरक्षण गर्नुपर्ने हो उनीहरूलाई चाँहि ओझेलमा राख्ने उनीहरूको वास्ता गर्न राज्यलाई जरुरी छैन । भोट मात्र चाहिने रहेछ । यो सेतो कोट त पावरमा बस्ने मानिसले गिज्याउने वस्त्र भएको छ ।’

चिकित्सकमाथि हातपात हुँदा सरकारले सकारात्मक प्रतिक्रिया नदिएको भन्दै अधिकारीले राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न गरे । भने, ‘जुन तरिकाले चिकित्सकमाथि हातपात भएको छ । अभद्र व्यवहार भएको छ । यो भर्त्सनायोग्य  छ । आज सरकारले राम्रो प्रतिक्रिया दिएको भए अस्पतालमा बिरामी हेरेर बस्नुपर्ने यहाँ मण्डलमा आएर बस्न जरुरी थिएन । यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन?’

डाक्टरहरूले कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् । यसअघि सरकारले देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानूनी व्यवस्थाको जानकारीमूलक बोर्ड र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने  र पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने निर्णय गरेको थियो ।

तर त्यसप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरू आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:४९
Weather Update