News Griha :: न्यूजगृह
जलहरीमा घोटाला प्रकरण : भ्रष्टाचार मुद्दा दर्ता हुने  

काठमाडौं—  पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता भएको निष्कर्ष निकालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पशुपतिको जलहरीमा अनियमितता भएको अख्तियारको निष्कर्ष शीर्षकमा न्यूजगृहले असोज ५ गते समाचार सार्वजनिक गरेको थियो । 

अख्तियार स्रोतका अनुसार जलहरी प्रकरणमा अनियमितता भएको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार एक साताभित्र अदालतमा मुद्दा दर्ता हुनेछ ।  

स्रोतले भन्यो, ‘जलहरी राख्दा सुरुमा अनियमितता भएको छ । पछि विवाद हुँदा सुन थप्ने काम भएको छ । भ्रष्टाचार उद्योगमा मुद्दा दर्ताको तयारी भइरहेको छ । ’ 

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा करिब ११ किलो सुन हराएको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । 

‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था थिएन’ स्रोतले भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’ 

हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर मानिने पशुपतिनाथकै मन्दिरमा घोटाला भएको भन्दै त्यसले ठूलो संशय मच्चाएको थियो । महालेखापरीक्षकको कार्यालयद्वारा २०७९ असार २९ मा सार्वजनिक भएको ५९औँ वार्षिक प्रतिवेदनमा जलहरीबारे प्रश्न उठाएपछि सो विषय सडकदेखि सदनसम्म चर्चा भयो । 

त्यसो त जलहरीमा अनियमितताको कुरा २०७८ असारमा नै उठेको थियो । जलहरीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि त्यस विषयमा अनुसन्धान सुरु भएको थियो ।

तत्कालीन कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र हालका सदस्य सचिव र तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा र निर्देशक घनश्याम भुसालसहित २२ जनालाई अख्तियारले बयानको लागि बोलाएको थियो भने कोषको फाइल पनि जफत गरिएको थियो । तर, अनियमिततामा राजनीतिक दलका नेताहरू पनि मुछिन थालेपछि अनुसन्धान ‘होल्ड’ भएको थियो । 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:३९
Weather Update