
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको दाबी अख्तियारको छ ।
‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था थिएन’ स्रोतले भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा करिब ११ किलो सुन हराएको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।
हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर मानिने पशुपतिनाथकै मन्दिरमा घोटाला भएको भन्दै त्यसले ठूलो संशय मच्चाएको थियो । महालेखापरीक्षकको कार्यालयद्वारा २०७९ असार २९ मा सार्वजनिक भएको ५९औँ वार्षिक प्रतिवेदनमा जलहरीबारे प्रश्न उठाएपछि सो विषय सडकदेखि सदनसम्म चर्चा भयो ।
त्यसो त जलहरीमा अनियमितताको कुरा २०७८ असारमा नै उठेको थियो । जलहरीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि त्यस विषयमा अनुसन्धान सुरु भएको थियो । तत्कालीन कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र हालका सदस्य सचिव र तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा र निर्देशक घनश्याम भुसालसहित २२ जनालाई अख्तियारले बयानको लागि बोलाएको थियो भने कोषको फाइल पनि जफत गरिएको थियो । तर, अनियमिततामा राजनीतिक दलका नेताहरू पनि मुछिन थालेपछि अनुसन्धान ‘होल्ड’ भएको थियो ।
यो पनि पढ्नुहोस
पशुपतिमा चढाइएको जलहरी विवाद के हो ?