पत्रकारमाथि आक्रमण गर्ने पक्राउ
काठमाडौं—रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनमा आबद्ध प्रेम सिजापति छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार पक्राउ परेका सिजापति नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् ।
सिजापतिलाई कीर्तिपुरबाट पक्राउ गरिएको उनले बताए । सोमबार ५/६ जनाको समूहमा आएका आक्रमणकारीले रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै धामीमाथि आक्रमण गरेका थिए ।
भदौ २६ मा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले रातोपाटी डटकम र त्यसमा कार्यरत संवाददाता थामीलाई आक्रमण गर्ने धम्की दिएको रातोपाटीले बताउँदै आएको छ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १९:०६