काठमाडौं— सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो देखिएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै अनुसन्धान हेर्दा भद्दा मजाकजस्तो देखिएको बताएका हुन् ।
उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान गरियो,त्यो अनुसन्धानका कुराहरु हेर्दा एउटा भद्दा मजाकजस्तो भयो । मैले त्यतिखेरै भनेको थिएँ, ३ दिनपछि यो प्रकरण अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? संदिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै अनुसन्धान भएन ।’
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले कन्फिडेन्ट प्रहरीलाई दिन नसक्नुभएको हो कि ? पार्टीभित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो भन्दै प्रश्न गरे ।
उनले भने, ‘जति पनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडियाको सहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो ?’