काठमाडौं— सल्यानका नरेश केसी (३६), २० महिना अघिसम्म खुशी थिए । कोटेश्वरमा बस्न आफ्नै घर, व्यापार, पत्नी नर्स, खुशी हुन नपर्ने कुनै कारण थिएन उनीसँग ।
२०७८ साउन २६ मा पाटन अस्पतालमा पत्नी पद्माले छोरा पाइन् । पहिलोपटक बाबु बन्दा को खुशी नहोला? २० महिनाअघिको खुशीको पल स्मरण गर्दै नरेशले सुनाए, ‘डेलिभरि राम्रो भएको थियो । सिजरिङ गरेर पद्माले छोरा (प्रणय) लाई जन्म दिएकी हुन् ।’ जन्मिँदा हल्का जन्डिस देखिएपनि चिकित्सकले बच्चाको अवस्था सामान्य रहेको बताएका थिए ।
प्रणय जन्मेपछि मातृत्वका लागि पद्माले जागिर छोडिन् । सबै ठिकै चल्दै थियो । प्रणय अन्य शिशु झैँ सामान्य तवरले हुर्किँदै थिए । दूध चुस्ने, हाँस्ने, चल्ने । नेपाली संस्कारअनुसार प्रणयको पास्नी भयो । तर, नौ महिना पुगेपछि प्रणयले अरु बच्चाले झैँ बामे सरेनन् ।
‘बच्चा सामान्य थियो । टाउको उठाउने, पल्टिने सबै गर्थ्यो,’ नरेशले ती दिन सम्झिए, ‘मसँग त्यसबेला ऊ चलेको भिडिओ पनि छ । ८/९ महिना हुँदा बच्चा चल्ने र बामे सर्नुपर्ने थियो । तर, त्यस्तो भएन ।’
करिब एक वर्ष पुग्न लागेको बच्चाले हलचल नगरेपछि पद्माले चिकित्सकलाई देखाउन कर गरिन् । त्यसपछि नरेश पत्नी र छोरा बोकेर अस्पताल गए । सुरुमा कान्ति बाल, त्यसपछि बालमैत्री र एभरेस्ट अस्पताल धाए । चिकित्सकले भिटामिन दिने र ‘खासै केही भएको छैन’ भन्दै उनीहरूलाई फर्काउने गर्थे ।
समाजले पर्खन भन्थ्यो । ‘त्यही हो नेपाली समाज । बच्चाहरू २/४ महिनापछि ठिक भइहाल्छ । १५/१६ महिनामा पनि बच्चाहरू हिँड्डुल गर्छन्, खासै आत्तिनु पर्दैन भन्थे’ नरेशले समाजका कुरा सुने ।
कतै भगवानले पो ठिक गरिदिन्छ कि भनेर उनी धार्मिक पूजातिर पनि लागे । पूजाआजामै उनी केही महिना अलमलिए । ‘तर, प्रणयलाई निको भएन । रोग पनि पत्ता लागेन,’ काँपिएको स्वरमा उनले भने ।
एकदिन एभरेस्ट अस्पतालका डा. चन्देश्वर महासेठले दिल्लीको गंगाराम अस्पतालमा जान नरेशलाई सुझाए । नेपालमा रोग पत्ता नै लाग्न नसकेपछि उनी पत्नी र छोरा लिएर दिल्ली लागे, २०७९ कार्तिक ३० मा । त्यो निजी अस्पताल थियो । डाक्टरले स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)को आशंका गरी परीक्षण गर्न लगाए । त्यसबेला उनी यो रोगबारे अनभिज्ञ थिए ।
सुरुमा अस्पतालले उनलाई ‘जेनेटिक्स’ परीक्षण गर्न लगायो । रिपोर्ट ‘नेगेटिभ’ आयो । त्यसपछि अरु कारणले हो कि भनेर ‘एमआरआई’ गरे । सिटी स्क्यान, रगत लगायत परीक्षण गरे ।
निजी अस्पताल भएकोले शुल्क एकदमै महँगो थियो । नरेश भन्छन्, ‘एउटै टेस्टको १७ हजार आईसी (भारतीय रुपैयाँ) । ओपीडी मात्रै ४५ सय । त्यो रिपोर्ट जम्मा गर्ने समय बाँकी रहँदारहँदै अस्पतालले बीचमै तपाईंको बच्चाको एसएमए पोजिटिभ आयो भनेर खबर गर्यो ।’ त्यो दिन थियो, २०७९ मंसिर २८ । त्यसपछि डाक्टरले यो रोगको उपचार खर्चिलो छ, भोलि यसबारेमा बताउँला भन्दै उनलाई फर्काए ।
दुई वर्षमुनिका एसएमए पीडित शिशुहरूलाई जोजेन्स्मा नामक इनजेक्सन लगाइन्छ । जोजेन्स्मा एक प्रकारको जीन थेरापी पनि हो । एक डोज मात्र लगाए पुग्ने उक्त इनजेक्सनको मूल्य भारतमा मात्रै १७ करोड (भारु) पर्छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।
‘त्यो इन्जेक्सन हामीले किन्न नसक्ने भन्ने थाहा भएपछि त्यसबेला एकदमै पीडा भयो,’ उनले भने । त्यही राती गुगल सर्च गर्दा नरेशले एसएमएबारे जानकारी पाएका थिए ।
एसएमएले मेरुदण्ड बङ्ग्याउने गर्छ । अहिले प्रणयको खुट्टा चल्न छोडेको छ । हात भने अलिअलि चल्छ, तर, कमजोर भएको छ । नरेश सम्झन्छन्, ‘जन्मेको केही महिनासम्म हातखुट्टा बलिया थिए । स्वस्थ देखिन्थ्यो ।’
‘सास रहेसम्म आस रहन्छ’ भनेझैँ छोराको उपचारको लागि जीन थेरापी उपलब्ध गराउन नरेश भारतमा करिब चार महिना बसे । कहिले उनी भारतको औषधी विभाग त कहिले अस्पताल चहार्थे । सो औषधी बनाउने कम्पनीसँग भारत सरकारको अनुरोधमा कतिपय नागरिकले उक्त औषधी निःशुल्क पाएको जानकारी उनले पाएका थिए । भन्छन्, ‘नेपाली नागरिक भएकै कारणले त्यहाँको डाक्टरले हामीलाई त्यो औषधी दिनुभएन ।’
उनले छोरालाई करिब ४ महिना अस्पतालमा थेरापी पनि गराए । दिनको पाँच हजार त उनको थेरापीमै सकिन्थ्यो । उनलाई डाक्टरले बाँचुञ्जेल थेरापी गर्नुपर्छ भनेका छन् ।
निजी अस्पताल भएकोले निकै खर्च लाग्थ्यो । जाँच गराउँदा नै बढी पैसा लाग्ने भएपछि उनले फ्ल्याट लिएर बसे । फ्ल्याटको उनले १० हजार (भारु) तिरे तर, केही सीप लागेन । गत महिना मात्र उनी प्रणयलाई लिएर काठमाडौं फर्किए । लगभग १५ लाख रुपैयाँ उनले प्रणयको उपचारको लागि भारतमा खर्चिसके ।
नेपाल आएपछि के गर्ने भनेर उनले सोच्न सकेका छैनन् । भन्छन्, ‘यसको उपचार महँगो छ । करोडौँ रुपैयाँ लाग्छ । जोजेन्स्मा सुई लगाएपछि मेरो छोरा बाँच्न सक्छ । तर, त्यसको मूल्य नै अहिले २८ करोड पुगेको छ । डलरको भाउ बढेसँगै यसको मूल्य बढ्ने गरेको छ ।’
यता उपचार नपाउँदा प्रणयको स्वास्थ्य दिन प्रतिदिन कमजोर हुँदै गएको छ । ‘२० महिनाको बालक अहिले राम्रोसँग खाना खान सक्दैन । ग्राइण्डीङ मेसिनमा राखेर धुलो बनाएको खाना मात्र खान सक्छ,’ उनले भने, ‘पहिला धेरै चलाउने हात पनि अहिले अलिअलि मात्रै चलाउँछ । खुट्टा टेक्न जस्तो मात्र मिल्छ । कोल्टो बनाएर सुतायो भने जति नै सास्ती भएपनि त्यसरी नै सुतिरहेको हुन्छ । अरुले नै उठाउने र बसाउने गर्नुपर्छ ।’
एसएमए रोगका पाँच प्रकार छन् । बच्चा पेटमा हुँदा देखि ४० वर्षका मानिसलाई पनि एसएमए हुनसक्छ । केही वर्षअघि सियोना श्रेष्ठ यही रोगबाट ग्रसित थिइन् । उनलाई एसएमएको टाइप १ भएको थियो । उनले भारतबाट उपचार पाएकी थिइन् । सियोनाको बारेमा नरेशले भारतको अस्पतालबाटै थाहा पाएका हुन् ।
सियोनाले २२ महिना हुँदा औषधी पाएकी थिइन् । उपचारपछि उनको हात खुट्टा राम्ररी चलेको नरेशले थाहा पाए । प्रणयलाई भने एसएमएको टाइप २ भएको हो । यसको लागि पनि जोजेन्स्मा इन्जेक्सन नै दिनुपर्ने नरेश बताउँछन् । सन् २०१९ मा अमेरिकामा मात्र बनेको सो औषधी अझै परीक्षण कालमै छ । औषधी नपाए खाना निल्न गाह्रो हुने, घाँटी सुक्दै जाने, नशा सुक्दै जाने, नशाले छाती समात्दै जाने र बच्चाको ज्यानै जान सक्छ ।
उनी भन्छन्, ‘हामीलाई थाहा पनि छैन, बाबु (प्रणय) कतिसम्म बाँच्छ भनेर । औषधी पाएपछि सायद केही होला भनेर हो ।’
‘बाउ हुँ म, युवा नै छु । रुन बिर्सिएको मान्छे रुन थालेको छु,’ उनले रुञ्चे स्वरमा बदलिएको आफ्नो पछिल्लो दिनचर्याबारे सुनाए । ‘आफ्नै आँखा अगाडि आफ्नो सन्तानलाई मर्न कसरी दिऊँ? कहिलेकाहीँ रातमा ब्युझिँन्छु, छोरा साथमै सुतिरहेको हुन्छ । चिन्ताले केही सोच्न सक्दिँन,’ उनले भने, ‘मेरो छिमेकी भाइको छोरा मेरो बाबुभन्दा एक महिनापछि जन्मिएको हो । मेरै आँखा अगाडि हिँड्डुल गर्छ ऊ । मेरो बच्चाले उसलाई भाइ भनी बोलाउँछ । ऊ सजिलै उठ्ने, पल्टिने गर्छ, त्यसबेला मन सम्हाल्न झनै गाह्रो हुन्छ । मेरो बच्चा पनि हिँड्ने, स्कुल गएको हेर्ने चाहना छ, हुन्छ कि हुँदैन त्यो भगवान् भरोसा हो ।’
उनी आफ्नो सम्पूर्ण जायजेथा र साथीभाइसँग ऋण लिँदासमेत २८ करोड रुपैयाँ संकलन गर्ने अवस्थामा छैनन् । नेपालमै उपचार खर्च जुटाउन उनी स्वास्थ्य मन्त्रालय नधाएका होइनन् ।
‘सरकारले १/२ लाख रुपैयाँ, बिरामी खर्च भनेर दुर्लभ रोगहरूको लागि छुट्याएको रहेछ । तर, त्यो रकमले केही नहुने भएपछि मैले थप प्रक्रिया अघि बढाइँन,’ उनले भने । आफैँले गर्न सकिन्छ भनेर उनी चार÷पाँच महिना आफ्नै किसिमले उपचार खर्च जुटाउन लागे । तर, दिन प्रतिदिन आफ्नै आँखा अगाडि बच्चाको सास जान लागेको देखेपछि बाउको मनले मानेन र उनी मिडियामा आए ।
भन्छन्, ‘नेपालका चिकित्सकहरूलाई यस रोगबारे जानकरी नै छैन । बालचिकित्सक स्नायुविद् डा. विना प्रजापतिले सियोनाको केसमा मिडियामा समाचार आएपछि सहयोग जुटेकोले मिडियामा गए उपचार खर्च जुट्ला भन्ने आस बोकेर म आएको हुँ । मेरो बच्चाले बाँच्न पाओस् र उपचार पाओस् भन्ने हो ।’
कसैले पैसा नदिएर सिधै उपचार नै गरिदिने दाता, संस्था पाए झनै कृतज्ञ हुने उनी बताउँछन् । भन्छन्, ‘यति ठूलो रकम कोही सहयोग गर्ने संस्था, विदेशी डोनर पाए भने पनि सजिलो हुन्थ्यो । पैसा आयो र भोलि उपचारमा पुगेन भने त्यो पैसाको अर्थ भएन । त्यसैले पारदर्शिता पनि होस्, सहयोगी मनले दिएको पैसाको दुरुपयोग नहोस् । म पहिला मिडियामा आउन खोजेको पनि थिइन । तर, केही उपाय नलागेपछि आएको हुँ ।’
प्रणयको उपचारको लागि समय पनि घर्किन लागिसकेको छ । २४ महिना नाघेपछि सो सुई लगाउन मिल्दैन, त्यसैले पनि नरेश आत्तिएका छन् । भन्छन्, ‘२० महिनाको भइसक्यो मेरो बाबु । अब ४ महिनाभित्र उपचार पाएन भने काम लाग्दैन । २४ महिनापछि त सुई लगाउन मिल्दैन ।’
उनले अहिलेसम्म सहयोग लिएका छैनन् । तर, अहिले भने नरेशले सहयोगको लागि बच्चा (प्रणय केसी) को नाममा बैंक खाता खोलेका छन् । प्रणयको उपचारको लागि सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैंक (शंखमुल शाखा) को खाता नम्बर २५७०७०१०१५४८३३ मा रकम जम्मा गर्न सक्नेछन् ।
कसैले बच्चाको उपचार खर्च जिम्मा लिएर सहयोग गरे उनी खुशी हुनेछन् । भन्छन्, ‘मेरो बच्चाको जसरी होस् उपचार होओस् भन्ने हो ।’
नेपालमा एसएमएबारे धेरैलाई थाहा छैन । चिकित्सकसमेत यसबारे त्यति जानकार छैनन् । नेपालमा यस रोगको विज्ञ डाक्टर पनि छैनन् । नेपालमा यो रोगको पहिचान पनि हुँदैन । आफूले जस्तो समस्या भोग्नुपरेको छ, अरुले यस्तो समस्या भोग्न नपरोस् भन्दै सरकारले यस्ता दुलर्भ रोगको लागि केही पहल गरेको हेर्न चाहन्छन् नरेश । भन्छन्, ‘यो मेडिसिन बनाउने कम्पनीसँग सरकारले अनुरोध गर्यो भने हाम्रो जस्तो विकासोन्मुख राष्ट्रलाई सहयोग दिन्छ । सरकारले यसमा पहल गरोस् । नेपालमा जेनेटिक टेस्ट हुँदैन, त्यो पनि हुनुपर्यो ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग यसबारेमा जिज्ञासा राख्दा मन्त्रालयका सूचना अधिकारी माधवकुमार श्रेष्ठले एसएमए रोगबारे सुनेको, तर, मन्त्रालयले यसमा खासै सहयोग गर्न नसक्ने बताए । यसअघि दुर्लभ रोगबाट पीडित ‘गुगल ब्वाइ’ नामले परिचित आदित्य दाहालको उपचारको लागि तत्कालीन केपी शर्मा ओली सरकारले एक करोड रुपैयाँ दिएको थियो ।
प्रणयको जीवन बचाउनको लागि तपाईं तल उल्लेखित खाताबाट सहयोग गर्न सक्नुहुन्छ ।
Bank: Global IME
Account No.: 2570701054833
Account Name: Pranaya KC
Branch: Sankhamul
के हो एसएमए ?
स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या हो ।
यो मेरुदण्ड बाङ्गो हुने रोग हो । यो जन्मजात पनि हुन्छ । आनुवांशिक एवं रगत परीक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । बालबालिकाको पहिलो ६ महिनाभित्र यो समस्या देखिन्छ । कसैलाई एक वर्षसम्म पनि नदेखिन सक्छ ।
एसएमए नवजात शिशुहरू र बामे सर्ने शिशुहरूको मृत्युको प्रमुख कारण बन्ने गरेको छ । एसएमएबाट पीडित बच्चामा मस्तिष्क र मेरुदण्डबीचको ‘मोटर न्यूरोन्स’ नष्ट हुन्छ । जसले गर्दा सामान्य मांसपेशी कार्यका लागि आवश्यक संकेतसमेत शरीरको मांसपेशीले दिन सक्दैन ।
अनैच्छिक मांसपेशीहरू जस्तै मूत्राशय र आन्द्रा तथा मलद्वारको कार्य नियन्त्रणमा भने एसएमएले असर गर्दैन । यसले सुन्ने क्षमता र दृष्टिमा प्रभाव पार्दैन, तर, मस्तिष्क सामान्य वा औसत भन्दा माथि हुन्छ ।
एसएमए प्रकारहरू:
अहिलेसम्म एसएमएका पाँच प्रकार छन् । यी सबै प्रकारलाई अटोसोमल रिसेसिभ एसएमए पनि भनिन्छ, जसको अर्थ बच्चामा यो रोग लाग्न आमा र बुबा दुवैबाट दोषपूर्ण जीन आएको हुनुपर्छ ।
एसएमएको सबै रूपहरूले मेरुदण्ड, हात र खुट्टाको हड्डी र मांसपेशीहरूलाई असर गर्छ । सामान्यतया शरीरको बीचमा नजिक भएका मांसपेशीहरू टाढा भएका मांसपेशीहरू भन्दा बढी प्रभावित हुन्छन् ।
टाइप ०
यो धेरै दुर्लभ र गम्भीर मानिन्छ । लक्षणहरू जन्मनु अघि सुरु हुन्छ र प्रसवअघिका हप्ताहरूमा पाठेघरमा शिशुको हलचलमा कमी देखिन्छ । जन्मँदा शिशु कमजोर हुन्छ र प्रायः सास फेर्न, खुवाउन गाह्रो हुन्छ, र जोर्नी संकुचन र मुटुमा समस्या हुन सक्छ । यी शिशुहरूलाई सामान्यतया सास फेर्न र खुवाउन सहायता चाहिन्छ । यी शिशुहरू केही महिना बाँच्न सक्छन् ।
टाइप १
एसएमए टाइप १ सबैभन्दा धेरै देखिने (६०%) र सबैभन्दा गम्भीर रूप हो । सामान्यतया शिशु जन्मेको ६ महिनाभित्र पत्ता लाग्छ । यो रोगबाट ग्रसित बच्चाहरूले कमजोर मांसपेशी, सास फेर्न समस्या, खोक्न र निल्न लगायत धेरै शारीरिक चुनौतीहरूको सामना गर्छन् । उनीहरूलाई सास फेर्न मद्दत वा खाना खाने नली चाहिन्छ । यदि उपचार गरिएन भने, टाइप १ का कारण जीवनको सुरुमै मृत्यु हुन सक्छ ।
टाइप २
टाइप २ सामान्यतया शिशु जन्मेको ६ महिनापछि, तर २ वर्ष भन्दा अघि पत्ता लाग्न सक्छ । यो एसएमएको मध्यवर्ती रूप हो । यो ७ र १८ महिनाबीच सुरु हुन्छ । एसएमए टाइप २ भएका बच्चाहरूले प्रायः सहायताबिना बस्न सक्छन्, तर, सहयोगबिना उभिन वा हिँड्न सक्दैनन् र उनीहरूलाई व्हीलचेयर चाहिन्छ ।
टाइप ३
यसलाई कुगेलबर्ग–वेल्यान्डर रोग पनि भनिन्छ । टाइप ३ सामान्यतया १८ महिनाको उमेरपछि, तर ३ वर्षको उमेर भन्दा अघि पहिचान गर्न सकिन्छ । तर, एसएमए टाइप ३ रोग किशोरावस्थामा ढिलो गरी पत्ता लाग्न पनि सक्छ । एसएमए टाइप ३ भएका व्यक्तिहरू सुरुमा हिँड्न सक्षम हुन्छन्, तर, उनीहरू हुर्किँदै जाँदा गतिशीलता सीमित हुन्छ र अन्ततः धेरैले ह्वीलचेयर प्रयोग गर्नुपर्छ । यी बच्चाहरू वयस्कमा पुग्न सफल हुन सक्छन् । यदि श्वासप्रश्वाससम्बन्धी जटिलताहरू देखा परेमा उनीहरूको जीवनको लागि सबैभन्दा गम्भीर खतरा हुन सक्छ ।
टाइप ४
एसएमए टाइप ४ रोग कम देखिन्छ । सबै रोग पत्ता लागेको केसहरूलाई हेर्दा एक प्रतिशत भन्दा कममा यो रोग देखिन्छ । यो रोगका लक्षणहरू सामान्यतया वयस्कमा पुगेपछि सतहमा देखिन्छ र हलचल गर्न हल्का समस्या निम्त्याउँछ । १८ वर्षको उमेरमा नै सुरु भएपनि सामान्यतया ३५ वर्षपछि मात्र लक्षणहरू देखिन थाल्छन् ।
उपचार
एसएमएको कुनै ज्ञात उपचार छैन जसले यसलाई पूर्ण रोक्न वा उल्टाउन सक्छ । तर, अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए)ले एसएमएको उपचारको लागि तीन औषधीलाई अनुमति दिएको छ । जसमा सन् २०१६ मा स्पीनरजा, सन् २०१९ मा जोजेस्मा र सन् २०२० मा एभरीस्डीलाई अनुमति दिएको थियो ।
यी सबै औषधीहरू परीक्षण अवधिमै छन् । सरकारले शारीरिक थेरापी र आर्थोपेडिक उपकरणहरूले हिँड्न मद्दत गर्न सक्छ । एसएमए के कारण हुन्छ, त्यो पत्ता लगाउन संसारभरका वैज्ञानिकहरू मिलेर काम गरिरहेका छन् । तर, यस रोगका धेरैजसो केसहरू सर्भाइभल अफ मोटर न्यूरोन नामक प्रोटिनको कमीले हुने गर्छ ।
एसएमए रोगका लक्षणहरू
– मांसपेशी कमजोरी
– सीमित गतिशीलता
– सास फेर्न समस्या
– खान र निल्न गाह्रो हुने
गोफन्ड डटकमबाट कसरी कोष संकलन गर्ने ?
कुनै पनि आवश्यकता वा आर्थिक कारणले पूरा हुन नसकेका सपना पूरा गर्नको लागि गोफन्ड डटकम कोष संकलन प्लेटफर्म हो ।
क्राउड फन्डिङबाट रकम संकलन हुने यो अमेरिकामा आधारित सबैभन्दा भरपर्दो अनलाइन माध्यम हो । यो साइटबाट जो कोही व्यक्तिले संसारको जुनसुकै कुनामा बसेर पनि आर्थिक सहयोग लिन सकिन्छ ।
यसको लागि पहिले https://www.gofundme.com/ र साइटमा गएर निःशुल्क खाता (साइन अप) खोल्नुपर्छ । आर्थिक सहयोग कति चाहिएको हो आफ्नो लक्ष्यमा स्पष्ट हुनुपर्छ । सहयोग केका लागि र किन चाहिएको हो, तपाईं स्वयंको लागि हो कि अरु कसैको लागि आफ्नो कथा भन्नुपर्छ । त्यसपछि भिडिओमा आफ्नो कथा बताए पनि हुन्छ या फोटो राखेर आफ्नो वास्तविकता उल्लेख गरे पनि हुन्छ ।
यसबारे विस्तृतमा बुझ्न यो भिडियो हेर्न सक्नुहुन्छ ।
त्यसपछि सबैतिरबाट सहयोग मिलोस् भनेर त्यो पोस्ट इमेल, मेसेज र सामाजिक सञ्जालबाट साझा गर्नुपर्छ । त्यस्ता पोस्ट कसरी साझा गर्ने भन्ने भिडियो पनि मा हेर्न सक्नुहुन्छ ।
दाताबाट कति सहयोग प्राप्त भयो, सोही साइटमा नै देख्न सकिन्छ । स्वास्थ्य, कसैको स्मृतिको लागि, आपत्कालीन अवस्था, गैर नाफमूलक संस्था लगायत विविध विषयमा आर्थिक सहयोग लिन सकिन्छ । अन्ततः दाताको सहयोग स्वीकार्ने, दातालाई धन्यवाद दिने र आर्थिक रकम झिक्न सकिन्छ ।