
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् ।
यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
बैठकमा राज्यमन्त्री नन्दा चपाईं, बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाका प्रतिनिधिको सहभागिता थियो ।
दसैँ, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्सेनि १० लाख यात्रु बाहिरिने गरेका छन् । मन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए ।
काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सुरक्षित गन्तव्यस्थल पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले भने,‘वर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडक तत्काल सुधार गर्नुहोस् ।’ उनले राज्यका अन्य निकाय र मन्त्रालयसँग सहकार्य गरी निरीक्षण गर्ने बताए ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता व्यक्त गरे ।
ट्राफिक महाशाखाका प्रतिनिधिले सडक व्यवस्थापनका लागि आफूले कुनै कसरत बाँकी नराख्ने बताए । यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।
उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधिहरूले सडक छेउका होटलले यात्रुहरूलाई दूषित खाना खुवाउने र त्यसको चर्को मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरे ।