News Griha :: न्यूजगृह
 ४ जनाको वीभत्स हत्या घटनामा संलग्न सञ्जय ‘सिरियल किलर’ हुन्?

काठमाडौं—  गत शुक्रबार राति काठमाडौंको गैरीगाउँस्थित दिव्या स: मिलमा ४ जनाको वीभत्स हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई आइतबार पक्राउ गर्‍यो ।  

शुक्रबार राति सः मिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या भएको थियो । सोही घटनामा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे घर भएका सञ्जयलाई पक्राउ गरेको हो ।

उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनी बोल्न सक्दैन  । फरक क्षमता भएका सञ्जयलाई प्रहरीले दोभाषेको सहयोगमा लेख्न लगाएर सोधपुछ गरिरहेको छ ।

सोधपुछको क्रममा प्रहरी सामु उनले नयाँ तथ्य उजागर गरेका छन् । उनले अरु व्यक्तिको समेत हत्या गरेको दाबी गरेपछि नयाँ तथ्य उजागर भएको हो । उनको दाबीमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।  

सोधपुछ गर्दा उनले नक्सालस्थित भाटभटेनी, धुम्बाराही र रातोपुलमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरू चकित परेका छन् । सञ्जय ‘सिरियल किलर’ हुनसक्ने आशङ्कामा प्रहरीले थप अनुसन्धान थालेको छ ।   

जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलका अनुसार सञ्जयलाई लगेर प्रहरी टोलीले भाटभटेनी र रातोपुलको घटनास्थल निरीक्षण गरेको छ । अनुसन्धान संलग्न प्रहरी अधिकृतका अनुसार सञ्जयले दाबी गरेका कुरा पुष्टि गर्ने प्रयास भइरहेको छ ।  हत्या गरेको दाबी गरेपनि उनले स्पष्ट घटना विवरण भनेका छैनन् । उनले कक्षा १२ सम्म पढेका छन् । 

ब्रेल लिपिको माध्यमबाट उनले १२ कक्षासम्म नक्सालस्थित बालमन्दिर पढेका हुन् । उनी काठमाडौंको काँडाघारीस्थित दिदीभिनाजुको घरबाट बस्थे । 'एकजना व्यक्तिसँग १३ हजार लिनुपर्ने थियो तर, नदिएपछि हत्या गरेको हुँ,' सञ्जयको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।  

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १९:५५
Weather Update