News Griha :: न्यूजगृह
अनलाइनबाट ११ लाख बढी ठगी गर्ने महिला पक्राउ

काठमाडौं— ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर इमेल आइडीबनाउन र फिफिया एप इन्स्टल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवम् कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:१३
Weather Update