News Griha :: न्यूजगृह
इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा दिल्ली जाँदै

काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । 

उक्त सम्मेलनमा सहभागी हुन शर्मा आगामी आइतबार नयाँ दिल्ली जाने भएका हुन् । शर्मा असोज ११ गते स्वदेश फर्किने छन् । 
अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्ड र भारतीय सेनाको आयोजनामा हुन लागेको सो सम्मेलनमा शर्मा सहभागि हुन त्यसतर्फ प्रस्थान गर्ने सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले बिहीबार जानकारी दिए ।

दिल्लीमा हुने उक्त सम्मेलनमा सैनिक अधिकारीहरूले आ–आफ्नो क्षेत्रमा भोगेका समस्या, चुनौतीहरूको समाधान गर्न र बहुराष्ट्रका सैनिकहरूबीच समानता खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ ।  

क्वाडजस्ता महत्वपूर्ण संस्थाहरूको प्रतिनिधित्व गरिएको इन्डो प्यासिफिकमा संयुक्त राज्य अमेरिकाको बहुपक्षीय सुरक्षा साझेदारीलाई अघि बढाउनको लागि एक महत्वपूर्ण कोसेढुंगा मानिँदै आएको छ ।

शर्माको सहभागिताले क्षेत्रीय सहयोगलाई बढावा दिन र छिमेकी देशहरूसँग कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको सैनिक प्रवक्ता भण्डारीले बताए । 

इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलन एक प्रमुख फोरम हो । जहाँ सैन्य प्रमुख र पदाधिकारीबीच अन्तर्दृष्टि, दृष्टिकोण र रणनीतिक विचारहरूको आदानप्रदान गर्न मद्दत गर्दछ । सेनापति शर्माले अमेरिकी सेना र भारतीय सेनाका समकक्षीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । 

शर्माले भारतीय सेनाका समकक्षीसँग द्विपक्षीय हितका बारेमा समेत छलफल गर्ने कार्यक्रम तय भएको प्रवक्ता भण्डारीले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:३३
Weather Update