सशस्त्रले गर्यो बाग्मती नदीमा अड्किएकाको उद्धार

काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको दक्षिणकालीस्थित बाग्मती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।
गएराति काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
पानीको बहाब कम भएका बेला नदी पारि गएका लामा बहाब बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए ।
उक्त खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलवाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा गएको टोलीले उद्धार गरेको हो ।
लामालाई आफन्तको जिम्मा लगाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० ११:०४