
पाल्पा— घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तीजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तीजलाई लिइन्छ ।
परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट गर्न तीज पर्व नै पर्खेर बस्ने चलन थियो । वर्ष दिनभरका तितामीठा अनुभवलाई गीतमार्फत साथीभाइ, आफन्तजनसँग विरह, वेदना तीजका बेला व्यक्त गर्ने र मनलाई हलुका बनाउने चलन थियो ।
हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ वस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तीज पर्व मनाउने होडबाजी चलेको छ ।
गरगहना, महंगो मूल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ । तीज आउनु महिना दिन अगावै गरगहना, महंगा मूल्यका कपडामा सजिएर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता वाशिष्ठ बताउँछिन् ।
‘हाम्रा पालामा मनाइएको तीज र अहिलेको तीजमा धेरै परिवर्तन आयो, तीजको अघिल्लो दिन माइती मावली गएर सबै जम्मा भएर घरको आँगन पिँढीमा लहरै बसेर दर खाने, गाउँभरीका सबै जम्मा भएर नाच्ने गाउने चलन थियो, अहिले त साथीहरु जम्मा भएर होटलमा दर खाएर नाच्ने रमाउने चलन आयो’,उनले भनिन् ।
तीजको मौलिक परम्परा र संस्कृती अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर को भन्दा के कम भन्ने सोँचले भड्किलोपनहुँदैगएको ज्येष्ठ नागरिक वाशिष्ठको अनुभव छ । खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुँदै गएको उनको बुझाइ छ ।
नारीका दुःखसुख र वेदनालाई बोल्ने पर्व हरितालिकालाई लिइन्छ । वर्षदिनभर मनमा सङ्गाल्हेका पिर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तीजका बेलामा व्यक्त गर्ने, मीठा–मीठा परिकार खाने प्रचलनका रुपमा तीजलाई लिने गरिन्छ । पछिल्ला वर्षमा तीज आउन महिना दिन अघिदेखि नै गाउँ, सहरमा रौनक बढ्दो छ, तर तीजको मौलिकता भने हराउँदै गएको छ ।
नागपञ्चमी पर्व सुरु भएपछि गाउँमा पालैपालो सबैका घर–घरमा साँझमा झोरा लगाउने चलन थिए । गाउँ, शहर, गल्ली चोक, घर–घरमा बिरह, ठट्यौली, सुखदुःखका गीत गुञ्जन्थे । तीजका गीतमा महिलाले सासु/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाई लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । ती गीतहरु सुनिरहुँ जस्तो लाग्थ्यो ।
अहिले यस्ता खालका गीतहरु कमै सुन्न पाइन्छ । तीजको रमझम सुरु हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पूरानो यादले अझै पनि मनमा झस्काउने गरेको रामपुरकै सीता देवकोटाले बताइन् ।
उनी भन्छिन्,‘आमा हजुरआमासँग घरको कामधन्दा सकाएर गाउँमा तीजको झोरा हेर्न गइन्थ्यो, समाजका यथार्थपरक विषयवस्तुमा गाउने ती गीत सुन्दा आनन्द आउँथ्यो, अहिले त गाउँमा झोरा लगाएर नाच्ने गाउने चलन छैन, घरमै बसेर टिकटक बनाउने, मोबाइल, टिभीमा इन्टरनेटबाट तीज गीत सुन्ने र हेर्ने चलन आयो ।’
आजभोलि गीत सुन्दा तीजका हुन कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ । दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पूराना पुस्ता चिन्तित बनेका छन् । तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरु छन् भन्ने बुझाइ हुन्थ्यो ।
कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा–मीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदिबहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो । अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कमहुँदैगएको छ । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरु बताउँछन् ।
पहिला–पहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोे जस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृती भन्दा मनोरञ्जन भावका गीत बढी छन् ।
‘भररर रानीचरी ऐँसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा’ (गायिका विमाकुमारी दुरा) घरको कामधन्दा, तीजमा बिदा नपाउँदाका पीडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ ।
तीज पर्वको एउटा महत्वपूर्ण पक्ष हो झोरा अर्थात् तीज गीत छोरी चेलीले माइतीमा जम्मा भएर आफ्ना दुःखसुख बिसाउनका लागि गीतलाई माध्यम बनाउँछन् । सूचना प्रविधिको विकाससँगै माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसुबकमा सिमित बन्न पुगेका छन् ।
बजारका खुल्ला चौर, चोक तीजका गीतले गुञ्जायमान बनाउँथ्यो । पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टीभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तीजका गिन गाउन र नाच्न जाने भेटिँदैनन् ।
तीज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन् । तीजलाई नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ ।