News Griha :: न्यूजगृह
करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्कर अर्थ मन्त्रालय फर्किए 

काठमाडौं—  करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई सरकारले पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ ।उनी सामान्य प्रशासन मन्त्रालयको सचिव थिए ।

सरकारले अर्थ सचिवमा पुष्करलाई लैजाने तयारी गरेको समाचार न्यूजगृह डटकममा गत साउन ३० गते नै प्रकाशित भएको थियो । 

शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्दै अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो । पोखरेलको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई हटाउने तयारी सरकारले गरेको थियो ।

पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । बजेटमा करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव हुन् पुष्कर । जनार्दन शर्मा अर्थमन्त्री हुँदा पुष्कर राजस्व र अर्थ दुवैको सचिव भएर काम गरेका थिए । 

तत्कालीन अर्थ मन्त्री शर्माको पालामा भएको बजेटमा करको दर हेरफेर प्रकरण बाहिरिएपछि पुष्कर विदेश यात्रामा निस्किएका थिए । संसदीय छानबिन समितिले बयानका लागि बोलाएपछि विदेश यात्राबाट फर्किएका उनले रक्षात्मक जवाफ दिएका थिए । बयानका क्रममा उनले बदनियत राखेर करको दर हेरफेर नभएको दाबी गरेका थिए । समितिसँग बयानमा पुष्करले भनेका थिए, ‘म सचिव भएर पनि सचिव हैन ।’

बजेट बनाउँदा अर्थमन्त्रीले आफूसँग भन्दा बढी ‘अर्को सचिव’सँग छलफल गरेको र अर्थ मन्त्री र अर्थ सचिवको निर्देशन अनुसार इमानदार भएर काम गरेको भन्दै पुष्कर आरोपबाट पन्छिएका थिए । जबकि, करको दरमाथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी मन्त्री र अर्थसचिव पछि राजस्व सचिव पुष्कर कै थियो ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:१९
Weather Update