News Griha :: न्यूजगृह
करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थमा फर्काउने तयारी
सचिव कृष्णहरि पुष्कर । फाइल तस्बिर

काठमाडौं— सरकारले अर्थ सचिव फेर्ने तयारी गरेको छ ।

अर्थ सचिव अर्जुन पोखरेलको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई हटाउने तयारी सरकारले गरेको हो । उनको ठाउँमा यसअघि अर्थ सचिव रहिसकेका कृष्णहरि पुष्कर वा केवल भण्डारी मध्ये एक जनालाई ल्याउने तयारी गठबन्धन सरकारको छ  ।

बजेटमा करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव हुन् पुष्कर । सचिव पोखरेल  अर्थमा आउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । विष्णु पौडेल अर्थ मन्त्री हुँदा अर्थ सचिव बनेका तोयम रायलाई त्यो बेला सरुवा गरेर उपराष्ट्रपति कार्यालयमा लगिएको थियो । 

‘अर्थ सचिव पोखरेलको कार्यसम्पादन सन्तोषजनक भएन । उनलाई हटाउने निर्णय भइसकेको छ । तर, सरुवा आज हुन्छ की अर्को पटकको मन्त्रिपरिषद् बैठकमा हुन्छ त्यो भन्न सकिनन्,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो  । 

मन्त्रिपरिषद् बैठक मङ्गलबार अपरान्ह ४ बजे बस्ने तयारी छ । कृष्णहरि पुष्कर अहिले सामान्य प्रशासन मन्त्रालयको सचिव छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदा पुष्कर राजस्व र अर्थ दुवैको सचिव भएर काम गरेका थिए । उनलाई अर्थमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री डा. प्रकाशशरण महतबीच ‘भद्र’ सहमति भइसकेको छ ।

तत्कालीन अर्थ मन्त्री शर्माको पालामा भएको बजेटमा करको दर हेरफेर प्रकरण बाहिरिएपछि पुष्कर विदेश यात्रामा निस्किएका थिए । संसदीय छानबिन समितिले बयानका लागि बोलाएपछि विदेश यात्राबाट फर्किएका उनले रक्षात्मक जवाफ दिएका थिए । बयानका क्रममा उनले बदनियत राखेर करको दर हेरफेर नभएको दाबी गरेका थिए । समितिसँग बयानमा पुष्करले भनेका थिए, ‘म सचिव भएर पनि सचिव हैन ।’

बजेट बनाउँदा अर्थमन्त्रीले आफूसँग भन्दा बढी ‘अर्को सचिव’सँग छलफल गरेको र अर्थ मन्त्री र अर्थ सचिवको निर्देशन अनुसार इमानदार भएर काम गरेको भन्दै पुष्कर आरोपबाट पन्छिएका थिए । जबकि, करको दरमाथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी मन्त्री र अर्थसचिव पछि राजस्व सचिव पुष्कर कै थियो ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:१४
Weather Update