News Griha :: न्यूजगृह
झापामा घाँस झार्न चढेका बेला रुखमै मृत्यु

झापा — बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ ।झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार सन्तबहादुर घर नजिकैको करिब ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए ।

घाँस काट्दा काट्दै उनी बेहोस् भई रुखको हाँगाको कापमा अड्किएका थिए । त्यतिबेला रुखमुनि उनकी श्रीमती फूलमाया र छोरा कुमार घाँस बटुल्दै थिए । घाँस झार्न रुख चढेका अभिभावक रुखमा अड्किएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले तामाङलाई रुखबाट निकालेको थियो । त्यबेला उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:१९
Weather Update