News Griha :: न्यूजगृह
सुनसरीमा विश्वकर्माको मूर्ति बनाएर दुई लाख कमाइ 

सुनसरी— विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । मूर्तिको माग बढेपछि मूल्य पनि बढेको छ । कलाकारले एउटै मूर्ति बनाएर वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको छ ।

विश्वकर्मा पूजालाई लक्षित गरेर स्थानीय मूर्तिकारले हजारौं मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताए । दुई हजारदेखि पाँच हजारसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताए ।

इनरुवा–८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति बनाइसकेका छन्  । सुनसरीमा १० हजारको संख्यामा विश्वकर्माको मूर्ति बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए । यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म कमाइ  गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:१३
Weather Update