
रामेछाप— ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा यस वर्ष चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुने भएको छ ।
याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागेको शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए ।
सो कार्यक्रममा २ सय बढी पाहुनाहरू शैलुङ आउने शेर्पाले जानकारी दिए । पाहुनाहरू तीन दिनसम्म शैलुङको जङ्गलका चौँरी गोठमा चौँरीसँगै बस्ने र रमाउने छन् ।
उनका अनुसार असोज ११ गते पाहुनाहरू शैलुङ पुग्ने छन् । १२ गते परिचयात्मक एवं घुमफिर तथा मनोरञ्जन कार्यक्रम हुनेछ । १३ गते कार्यक्रम समापन गरी पाहुनालाई बिदाइ गरिने शेर्पाले जानकारी दिए । उनीहरूको आगमनले शैलुङको थप प्रचार हुने र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने शेर्पाले बताए ।
चौँरीसँग जङ्गली बसाइ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, तथा सशस्त्र प्रहरीका अफिसर, डाक्टर, पाइलट, इन्जिनियर, प्रोफेसर, खेलाडी, कूटनीतिक क्षेत्रका व्यक्ति, व्यवसायी, उद्यमी, मिडिया सञ्चारकर्मी, गायक गायिका, संगीतकार, लेखक, निजामती कर्मचारी, कलाकार लगायतको सहभागिता हुने उनले जानकारी दिए ।
रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ । धार्मिक हिसाबले पनि सो ठाउँलाई पवित्र भूमि मानिन्छ । शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको समस्थलको रूपमा रहेको छ ।