
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई आज सम्बोधन गर्दै पर्वतीय राष्ट्रका समस्या पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्ने ठोस पहल आवश्यक रहेको उनले बताए ।
नेपालका उस्तै समस्या भएका पर्वतीय मुलुकको समस्यालाई रणनीतिकरूपमा उठान गरी पर्वतीय मुलुकसँग सहकार्यको रणनीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय क्षेत्रलाई लक्षित गरेर विशेष योजना र कार्यक्रम तय गर्नका लागि सरकारवालासँग छलफल र सहकार्य गर्न आग्रह गरे ।
‘गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठूलो चिन्ताको विषय बनेको छ’, प्रधानमन्त्री दाहालले भने,‘यिनै चुनौतीलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।’
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आगामी असोज ३ मा हुन लागेको जलवायु महत्वकांक्षी शिखर सम्मेलनमा आफ्नो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहने जानकारी दिँदै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाले गरेका उल्लेखनीय कामको प्रस्तुति हुने बताए ।