विराटनगर— हेटौंडामा चिकित्सकमाथि कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एक जना चिकित्सकमाथि दुर्व्यवहार भएको छ ।
मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि हातपात भएको हो । सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात भएको मेडिकल सुपरिटेन्डेन्ट डा.विपिन यादवले बताए ।
डा.पोखरेलमाथि बुढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात गरेका हुन् । शुक्रराजले ज्वरो आएको भन्दै बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार अस्पताल ल्याएका थिए ।
संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी सेवा बन्द थियो । तारिणीलाई दिउँसो साढे १२ बजेतिर आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
उपचारमा खटिएका डा.पोखरेलले जाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी गराएका थिए । त्यसपछि उनीमाथि बिरामीका छोरा शुक्रराजले गाली गर्दै हातपात गरेको मेसु यादवले बताए । त्यस क्रममा अरु बिरामीका कुरुवा र अस्पतालका सुरक्षा गार्डले रोकेका थिए ।
डा.यादवका अनुसार ज्वरो आएर उपचारका लागि ल्याएको भनिएका तारिणीको अवस्था सामान्य थियो । उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भएको उनको भनाइ छ ।
डा.पोखरेलले आफूमाथि हातपात भएको बताए । शुक्रराजलाई इलाका प्रहरी कार्यालय हरैँचाले पक्राउ गरेको छ । डा.पोखरेलले किटानी जाहेरी दिएपछि शुक्रराजलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
यसैबीच हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै विराटनगरको कोशी अस्पतालमा शुक्रबार केहीबेर ओपीडी सेवा अवरुद्ध बनाइएको छ ।