News Griha :: न्यूजगृह
एक किलो सुन तस्करीमा कांग्रेसका नेता जोडिए, मन्त्रीसमेत अनुसन्धानमा 
कांग्रेस नेता तीर्थ लामासँग विकास लामा ।

काठमाडौं— सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १ केजी सुन सहित एक जना पक्राउ परे । उनको बयानपछि प्रहरीले थप २ जनालाई समेत पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा काभ्रेका २८ वर्षीय बाबुलाल दोङ, काभ्रेकै ३३ वर्षीय जगत लामा र ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तान छन् । दोङ सोमबार पक्राउ परेका हुन् भने लामा र स्याङ्तान मंगलबार  ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । दोङको साथबाट प्रहरीले ९६० ग्राम सुन  बरामद गरेको छ । उनले मलद्वारमा लुकाएर सुनको तस्करीको गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन तस्करी प्रकरणमा काभ्रे कै नेपाली कांग्रेसका जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन मुछिएका छन् । प्रहरी परिसर काठमाडौंका अनुसार विकास विमानस्थलबाट बरामद सुनको व्यवस्थापक हुन् । 

‘विकासको संलग्नता देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले भने । ढुङ्गेलका अनुसार सुन सहित ३ जना पक्राउ गरेपछि विकास गाडी छोडेर फरार भएका थिए । 

Bikas-lama1694706171.jpeg
विकास लामा भन्ने विकास योञ्जन ।

पक्राउ परेका ३ जनाले पनि विकास तस्करीको सुनको व्यवस्थापक भएको बयान दिएको अनुसन्धानमा संलग्न एक प्रहरी कर्मचारीले बताए । ‘प्रारम्भिक बयानका क्रममा उनीहरूले विकासले काम दिएको बताएका छन्,’ ती प्रहरीले भने ।

प्रहरीले विकासले छाडेर भागेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको गाडीसमेत बरामद गरेको छ । गाडीबाट कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले विकास योञ्जनका नाममा काटेको ६ लाखको चेक समेत भेटिएको प्रहरीले जनाएको छ ।   

bikas lama1694706172.jpeg
विकास लामा भन्ने विकास योञ्जनलाई कांग्रेसले प्रचार समिति संयोजक बनाएको पत्र । 

दुबईबाट सुन ल्याउने कामको व्यवस्थापन विकास र लगानी तीर्थले गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकारीले बताए । ‘व्यवस्थापक योञ्जन भन्ने कुरा बयानमा खुलिसकेको छ, तर तीर्थका विषयमा अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले भने । 

स्रोतका अनुसार यो समूहले काभ्रेको महाभारत, खानीखोला, तेमाल र रोसीका युवाहरूलाई पर्यटक भिसामा दुबई पठाउने र सुन बोकाएर नेपाल फर्काउने गरेको पाइएको छ ।

Bikash-yonjan1694706172.jpeg

‘यसरी पर्यटक भिसामा गएका युवा त्यो हैसियतका देखिँदैनन्, तर बेलाबेला गइरहन्छन्,’ उच्च स्रोतले भन्यो, ‘तिनै युवाको मलद्वारमा सुन लुकाएर दैनिक एक किलोसम्म ल्याउने गरेको पाइएको छ ।’ यसपटक मलद्वारमा सुन फिट गरिदिने समूहसँग कुरा नमिलेकाले सूचना लिक भएको स्रोतको दाबी छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २१:२०
Weather Update