
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएका छन् । नेपाल चिकित्सक संघको बिहीबार ज्ञापनपत्र बुझ्दै उनाले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी दिए । संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।
बुधबार हेटौंडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला सांघातिक आक्रमण गरिएको थियो । उक्त घटनाको विषयलाई लिएर बिहीबार प्रधानमन्त्रीसँग संघको टोलीले भेट गरेको थियो ।
संघले नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
डेंगु संक्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको सोमबार निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।
हेटौंडामा डाक्टर कुट्ने ४ पक्राउ
चिकित्सकमाथि कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने













