
काठमाडौं— नेपाल प्रहरीले आफ्नो पोशाक दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चलचित्र, म्युजिक भिडिओ, सामाजिक सञ्जाल, स्टेज कार्यक्रमलगायतमा प्रहरीको पोशाक लगाएर अपशब्द बोलेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सचिवालयले प्रहरीको पोशाक लगाएर मर्यादा विपरित गरिएका कार्यले प्रहरीको कार्यसम्पादनमाथि आँच पुगेको जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विगत केही समयदेखि नेपाली चलचित्र, टेलीचलचित्र, सांगीतिक भिडिओ एवम् फेसबुक, टिकटक, लगायत सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरेको देखिनुका साथै सांगठनिक मर्यादा विपरितका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका गरेका कार्यलाई अपव्याख्या गर्ने एवम् प्रहरी कर्मचारीको निर्दोष पारिवारिक सदस्यहरू समेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवम् अराजक प्रकृतिका अभिव्यक्तिहरूबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकाले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कडायतले प्रहरीसँग पूर्वस्वीकृति लिएर मात्र प्रहरीको पोशाक, दज्र्यानी चिन्ह र प्रहरीको मोनोग्राम प्रयोग गर्न अनुरोध गरेका छन् ।