News Griha :: न्यूजगृह
निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त थिए सुवास 

काठमाडौं— हृदयघातबाट निधन हुनु एक दिन अघिसम्म संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानुन निर्माणका क्रममा व्यस्त रहेका थिए ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानुनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आएका थिए ।

उक्त विधेयकमा सहमति खोज्न गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो ।

द्वन्द्वकालीन हिंसात्मक घटनामा गम्भीर अपराधका मुद्दालाई माफी मिनाह दिने या नदिनेलगायतका विषयमा दलबीच मतैक्य हुन सकेको छैन ।

यही भदौ २४ गते आइतबार सिंहदरबारस्थित समितिकै कार्यकक्षमा उपसमितिको अनौपचारिक बैठकमा सहभागि भई नेम्वाङले विधेयकका कानुनी पक्षमा आएका संशोधन र सुझावलाई समेटेर प्रतिवेदन बनाउन आफ्नो सुझाव दिएका थिए ।

उक्त विधेयक गत फागुन २५ गते संघीय संसदमा दर्ता भएको थियो । समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको नेतृत्वमा विधेयकबारे प्रतिवेदन तयार गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका समितिका सदस्य सचिव अधिराज राईका अनुसार भदौ २४ गतेको अनौपचारिक बैठकमा नेम्वाङले उपसमितिका सदस्यलाई एक प्रकारले मार्गदर्शन दिई प्रतिवेदन तयारीको गृहकार्यमा केही सदस्यलाई अलि समय दिन आग्रह गरेका थिए ।

नेम्वाङले विधेयकलाई सहमतिका आधारमा टुङ्गोमा लानुपर्ने र आफू त्यसका लागि तत्पर रहने स्पष्ट गरेको राईले जनाए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:२७
Weather Update