
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको छ ।
पार्टीबाट बर्खास्तमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए ।
यसबारे अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।
गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
त्यही कारबाहीका कारण उनको सांसद पद गयो । पछिल्लो समय उनले त्यो बेला आफूलाई मन्त्री बनाउन भन्दै केन्द्रीय सदस्य थापाले ३ करोड रुपैयाँ मागेको दाबी गरेका छन् ।
यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै रास्वपाले श्रेष्ठमाथि प्रश्न उठाएको छ । पार्टीको नाम प्रयोग गरेर पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने रास्वपाले बताएको छ । तर पार्टीप्रति जनविश्वासमा चोट पुर्याउने प्रयत्न नहोस् भनेर समेत सचेत गराएको छ ।