News Griha :: न्यूजगृह
जुम्लामा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प 

जुम्ला— सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि नागरिकता वितरण बन्द भएको हो । सिञ्जा क्षेत्रमा पर्ने हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो ।

सेवा बन्द हुँदा नागरिकता लिन समस्या भएको स्थानीयवासी दलसिंह रोकायाले जानकारी दिए । इलाका प्रशासनमा नागरिकता लिने मानिस गइरहे पनि कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् ।

इलाका प्रशासन कार्यालयमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा सेवा लिन आएका सेवाग्राही सेवा नलिएर घर पर्किने गरेको सिञ्जाका स्थानीयवासी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता, दश दिनअगाडि त्यहाँ निमित्तका रुपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्को ठाउँ सरुवा भएपछि अरू कर्मचारीको खोजी भइरहेको छ ।

आफूले त्यहाँको कर्मचारी व्यस्थापन गरिदिन भनी गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:२९
Weather Update