News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : सीआईबीले बनायो ५० जनालाई प्रतिवादी

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाएको छ ।

सुन तस्करी घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार छन् ।

पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन् । जसमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन् । अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ ।  एआईजी बज्राचार्यले सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको र यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न रहेको बताइन् ।

उनको भनाइमा यो तस्करीमा संलग्न रहेकाहरूले ३०२ किलो सुन तस्करी गरेको खुलेको छ । बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:३९
Weather Update