News Griha :: न्यूजगृह
भोजपुरे खुकुरी बनाएर वार्षिक १० लाख कमाइ

भोजपुर— भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले आम्दानी गर्दै आएका छन् । उनले लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर वार्षिक ८ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनी बताउँछन् ।

‘पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ’,विश्वकर्माले भने,‘भोजपुरे खुकुरी बनाउने हाम्रो पुर्ख्याैली पेसा हो । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्‍याउन जुटेको छु । यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु ।’

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जङ्गबहादुर विश्वकर्मा र बुबा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले बताए ।

तत्कालीन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुबाले ‘मेरो सीपले बनाएको भोजपुरे खुकुरी’ भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ । त्यो समयमा खुकुरी चढाएबापत एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए ।

‘भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ’,उनले भने,‘मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुश्किल छ ।’

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी एक हजार पाँच सयदेखी ३० हजारसम्ममा बिक्री गर्दै आएको बताए । भोजपुरमा निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको बताए ।

आफूले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले जानकारी दिए । बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए ।

गाउँमा रहेको उद्योगबाट सिधं बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ । खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा संकटमा पर्ने अवस्था छ ।

व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ । राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:००
Weather Update